दसैँमा मुस्ताङबाट ८ हजार भेडाच्याङ्ग्रा बिक्री
काठमाडाैं | असोज २२, २०८१
यसपालीको दसैँ पर्वका लागि मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् ।
मुस्ताङका कृषकले पालेका चार हजार आठ सय, डोल्पा र मुगुबाट ल्याइएका तीन हजार दुई सय भेडाच्याङ्ग्रा विभिन्न जिल्ला तथा सहरमा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।
केन्द्रका प्रमुख पशु चिकित्सक लालमणी अर्यालले उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपाली भेडाच्याङ्ग्राको बिक्री बढेको बताउनुभयो ।
“घटस्थापनाको दिनदेखि शुरु भएको स्वास्थ्य परीक्षण गरेर च्याङ्ग्रा बजार पठाउने काम मङ्गलबार सकिएको छ,” उहाँले भन्नुभयो, “कृषकले तौलअनुसार प्रतिगोटा रु २८ हजारदेखि ३७ हजारका दरले च्याङ्ग्रा बिक्री गरेका छन् ।” सरदर मूल्यअनुसार मुस्ताङ, डोल्पा र मुगुका कृषकले रु २६ करोड ४० लाख मूल्य बराबरको भेडाच्याङ्ग्रा बिक्री गरेका केन्द्रका प्रमुख अर्यालले बताउनुभयो ।
पाँच सय भेडा (च्यालु) र सात हजार पाँच सय च्याङ्ग्रा बिक्री भएको हो ।
म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत सहरमा मुस्ताङी भेडाच्याङ्ग्रा बिक्री भइरहेका छन् ।
जडिबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिने भएकाले दसैँतिहारमा हिमाली च्याङ्ग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताउनुभयो ।
तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुनेगर्छ । यसपाली गत वर्षको तुलनामा मूल्य सस्तीएकाले च्याङ्ग्राको बिक्री बढेको व्यापारी टसी छेवाङ गुरुङले बताउनुभयो ।
“गत वर्ष खोरमै प्रतिगोटा रु ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका थियौँ, यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेर ल्याएका छौँ,” उहाँले भन्नुभयो “ठाउँअनुसार पाँचदेखि १० हजार कम मूल्यमा च्याङ्ग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटेको हो ।”
गत वर्ष काठमाडौँ पोखरामा प्रतिगोटा रु ५५ हजारसम्म परेको च्याङ्ग्राको मूल्य यसपाली रु ४५ हजारभन्दा कम मूल्यमा बिक्री भएको छ । गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान ब्यहोरेको गुनासो गरेका थिए ।
मुुस्ताङको बारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङ्ग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका कृषक डिण्डुप गुरुङले बताउनुभयो ।
विसं २०८० मा सात हजार, २०७९ मा छ हजार आठ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको सङ्ख्यामा मुुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

